गाजामा हमासको नयाँ आक्रमण योजना बनिरहेको अमेरिकाको दाबी
“विश्वसनीय रिपोर्टका आधारमा हामीलाई जानकारी प्राप्त भएको छ कि हमासले गाजामा आम नागरिकमाथि आक्रमण गर्ने योजना बनाइरहेको छ।”
वाशिङ्टन, कात्तिक २ — अमेरिकाले प्यालेस्टाइनी विद्रोही समूह हमासले गाजामा सर्वसाधारणमाथि आक्रमणको तयारी गरिरहेको दाबी गरेको छ।
शनिबार अमेरिकी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “विश्वसनीय रिपोर्टका आधारमा हामीलाई जानकारी प्राप्त भएको छ कि हमासले गाजामा आम नागरिकमाथि आक्रमण गर्ने योजना बनाइरहेको छ।”
अमेरिकाले उक्त सम्भावित योजनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै गाजाका सर्वसाधारणको सुरक्षालाई उच्च प्राथमिकता दिन सबै पक्षलाई आग्रह गरेको छ। साथै, अमेरिकाले उक्त रिपोर्टको विषयमा थप विवरण सार्वजनिक नगरे पनि मानवीय अवस्थालाई अझ जटिल बनाउने कुनै पनि कदम रोक्न चेतावनी दिएको छ।
हमासले भने यसबारे कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन। गाजामा हालै बढ्दो तनावका कारण मानवीय संकट चर्किंदै गएको र सर्वसाधारण गम्भीर जोखिममा परेको अन्तर्राष्ट्रिय समाचारहरूमा जनाइएको छ।
यसअघि पनि अमेरिकाले हमासलाई गाजाको स्थायित्व र शान्तिको मुख्य अवरोधका रूपमा व्याख्या गर्दै आएको छ, जबकि हमासले इजरायलविरुद्धको ‘प्रतिरोध’लाई आफ्नो वैध संघर्ष बताउँदै आएको छ।


फोटो स्रोत : वेब सर्च